October 11, 2026

सांसदहरूलाई ज्ञान, सीप र अनुभवको उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

0
balenji

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका छन । प्रधानमन्त्रीले सांसदहरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।

“तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” उनले भने । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे ।

छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको बताउँदै ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताए । ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सदैव नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखे । छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असीम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशिष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामा थिए ।

यस्तै प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएको रास्वपा सांसद डा. राम लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *