नारायणीको पानी सुस्तामा पस्यो, मनाङ-म्याग्दीमा पहिरो, बैतडी-दार्चुलामा अधिक वर्षाको जोखिम

नेपाल दर्पण, काठमाडौं ।
निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पसेपछ स्थानीयवासी समस्या परेका छन ्। जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् भने २५ जनालाई प्रहरीले उद्धार गरेको छ । पशु चौपायहरूको पनि उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ ।

सुस्ताका स्थानीयका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताए । उनले भने, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बगाएको छ । म जस्तै दर्जनौँ किसानको धान र उखुलगायतको बाली बगाएको छ ।” सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।
यस्तै मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । म्याग्दी रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरो अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर–बेनी–जोमसोम सडकमा पनि पहिरो गएको छ । यस्तै विभिन्न सडकखण्डमा पहिरो जाँदा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् ।
