भोटेकोशीबाट भएको क्षतिका लागि जिम्मेवार मुलुक जवाफदेही हुनुपर्छःरवि

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गरेका छन । सम्बोधनको क्रममा लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा लिन नमिल्ने बताउदै विश्व समुदायलाई सत्यको ऐना देखाउन आवश्यक रहेको बताएका छन । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति नियमित मात्रै बन्न नहुने बताएका छन् ।
महासभालाई अकल्पनीय प्रकोपको यथार्थ स्थापित गर्ने सशक्त थलोका रूपमा प्रयोग गर्नैपर्ने उनको भनाइ छ । “संसारका कैयौँ राष्ट्रहरू र त्यहाँको राजनीतिक नेतृत्वलाई हाम्रा हिमालमा पग्लिरहेको हिउँले कसरी समग्र मानव सभ्यतालाई नै प्रलयतर्फ धकेलिरहेको छ भन्ने यथार्थको गहिराइ अझै थाहा नहुन सक्छ । उनीहरूले हिमालको आँसुलाई नजिकबाट नियाल्ने मौका नपाएका हुन सक्छन् । यस्तो बेलामा महासभा मात्र होइन, राज्यसँग उपलब्ध सम्पूर्ण द्विपक्षीय र बहुपक्षीय मञ्चहरूलाई हामीले जलवायु संकट, प्रकृतिको दोहन र त्यसले ल्याएको अकल्पनीय प्रकोपको यथार्थ स्थापित गर्ने सशक्त थलोका रूपमा प्रयोग गर्नैपर्छ,” रविले भने ।
उनले बाढीमा ज्यान गुमाएका नागरिकको मृत्यु केवल प्राकृतिक विपत्तिका कारण भएको भनेर सीमित गर्न नहुने तर्क गरे । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालजस्ता मुलुकले भोगिरहेको उनको भनाइ थियो । ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न । यो जलवायु संकटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो,’ लामिछानेले भने । नेपालले अब अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउनुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्तिका लागि जिम्मेवार मुलुकलाई जवाफदेही बनाउनुपर्ने उनको धारणा थियो ।
