प्रधानमन्त्रीले बालेनले एकैदिन भेटे भारतीय र चिनियाँ राजदूत

नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले भारत र चीनसँगको सम्बन्धलाई व्यावहारिक रूपमा सुमधुर बनाउन ‘एक्लाएक्लै कूटनीतिक भेटघाट’को शृंखला सुरु गरेका छन । यसैक्रममा प्रधानमन्त्रीले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गरेका छन ।
भारतीय राजदूतसँगको भेटमा द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस क्रममा दुवैले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। उनीहरूले ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने जोड दिए ।
यस्तै चीनीया राजदूतसँगको भेटमा शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।
आक्रामक निर्णय र कठोर अडानका साथ सत्ता यात्रा शुरु गरेका प्रधानमन्त्री बालेनले सत्ताको व्यावहारिक अनुभवसँगै रणनीतिक लचकता अपनाउन थालेका हुन् । विशाल छिमेकी देशहरू भारत र चीनलाई नचिढ्याई सन्तुलित सम्बन्ध राख्ने कूटनीतिक पहल र पार्टी पङ्क्तिलाई मिलाएर लैजाने आन्तरिक गृहकार्यले बालेन सरकारलाई परिपक्व र नतिजामुखी बनाउँछ कि बनाउँदैन ? त्यो भने आगामी दिनको कार्यान्वयनले नै पुष्टि गर्नेछ ।
