August 2, 2026

काँग्रेस संस्थापन इतरपक्षले नयाँ पार्टी घोषणा गर्ने

0
cong

नेपाल दर्पण,काठमाडौँ ।

नेपाली काँग्रेस पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्ने भएको छ । वीपी स्मृति दिवसको छुट्टै भेला आयोजना गरेको इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला आयोजना गरेर नयाँ पार्टी घोषणा गर्ने नेता प्रकाशमान सिंहले बताएका छन । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा हुने समेत उनले जानकारी दिए । उनले पार्टीको १५औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाए ।

यस्तै, नेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको बताएका छन् । ‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ । कांग्रेसको भावना र आत्मा यहाँ छ ! सभापति गगन थापाज्यू, कांग्रेसमा ठुलो त्याग र बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन्,’ उनले भने ।

कार्यक्रममा संस्थापन र असन्तुष्ट पक्षले अलग अलग कार्यक्रम आयोजना गर्दै उनीहरूले आ–आफ्ना राजनीतिक सन्देश प्रष्टाएका हुन् । कार्यक्रममा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरूको उपस्थिति छ । विशेष महाधिवेशनपछि पार्टीभित्र बढेको मतभेदका बीच असन्तुष्ट पक्षहरूले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ ।

यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने बीपी स्मृति दिवसलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ । बुधबार जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यसहित ‘ग्रीन रन’ आयोजना गरेको संस्थापन पक्षले बिहीबार बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनीतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दैछ । विशेष महाधिवेशनपछि नेतृत्व, संगठन सञ्चालन र आगामी १५औं महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद गहिरिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *