June 15, 2026

नयाँ पुराना पार्टीलाई गाली गर्दै नयाँ पार्टी खोल्ने अभियानमा दुर्गा प्रसाई र धवल शमशेर राणा

0
drana

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) परित्याग गरेका डा. धवल शमशेर राणा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन । वर्तमान रास्वपा बालेन शाह नेतृत्वमा रहेको सरकारको आयु लामो समयसम्म नहुने दाबी गर्दै उनीहरुले नयाँ पार्टी खोल्न लागेका हुन । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूहरूले नयाँ पार्टी खोल्न लागेको बताए ।

नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनको भनाइ छ । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘यो बालेन सरकार पनि के होला, कसो होला ? भन्ने यो सय दिन नपुग्दै तमाम प्रश्न चिह्नहरू उठिसके । तमाम गल्तीहरू गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन् । त्यो विकल्प भनेको एमाले, कांग्रेस, माओवादी र राप्रपा पनि होइन । त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ ।’

यस्तै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् । ‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो । विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन,’प्रसाईंले भने । उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताए ।

ढाँट्न नआउने व्यक्तिका रूपमा आफूलाई परिचित गराउँदै प्रसाईंले अगाडि भने,‘‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौँला’। वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताए । उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरे । ‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन् । सुस्तामा जनताले सीमा रक्षा गर्नुपरेको छ’, प्रसाईंले भने, ‘प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् ? अनि दरबारको फाइल खोल्छु भनेर हिँडेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *