June 15, 2026

प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्नेछौंः परराष्ट्रमन्त्री खनाल

0
skhanal1

नेपाल दर्पण, काठमाडौं ।

चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

आइतबार अपराह्न परराष्ट्रमन्त्री खनाल उनको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेका दूतावासले जनाएको छ । साथै, उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा मन्त्री खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन् । त्यसो गर्न सकिए नेपालको विकासले तीव्र गति लिने उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार बन्न आग्रह उनले गरे । उनले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै ठूलो जनमतका साथ रास्वपा नेतृत्वको सरकार गठन भएको बताए । विदेशमा रहेका नेपालीहरूले निर्वाचनका क्रममा रास्वपालाई गरेको समर्थनप्रति आभार व्यक्त गर्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी गरे । नेपालका युवायुवती बाध्य भएर रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आफूले कल्पना नै नगरेका देशहरूमा समेत नेपालीहरू पुगेको सुन्दा अचम्म लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *