धवलशमशेर राणासहित १८३ जनाले राप्रपा त्यागे, राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा धरापमा
नेपाल दर्पण, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि एकपटक गम्भीर विभाजनको संघारमा पुगेको छ । पार्टीका महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । पार्टी छाड्नुको मूल कारण मूल नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैली बताएका छन । पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै, एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको उनीहरूले आरोप लगाएका छन् ।
उक्त पक्षले परित्याग गरेको पत्र सार्वजनिक गर्दै भनेको छ, “संवैधानिक राजसंस्था पूनस्र्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्न किन अग्रसर भयो ? पार्टीको मूल लाइन र महाधिवेशनको निर्णय विपरीत जानुपर्ने के बाध्यता थियो ?” केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा सम्बन्धित पक्षबाट स्पष्टीकरण कहिले उपलब्ध नभएको पनि राणा पक्षको भनाइ छ । जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको वैधानिक निर्णय उल्लंघन गरेको, राजसंस्था पुनस्र्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको उनीहरूको आरोप छ ।
पहिलो चरणमा महामन्त्री राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेताहरु दिलनाथ गिरी, केशवराज श्रेष्ठ र कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइराला जस्ता स्थापित अनुहारहरूले पार्टी छोडेका छन् । यो लस्कर यतिमै रोकिने देखिँदैन, असन्तुष्ट पक्षका अनुसार अर्को चरणमा थप जिल्ला तह र जनवर्गीय संगठनका नेताहरू बाहिरिने तयारीमा छन् । पार्टी परित्याग गर्ने नेताहरूको मुख्य आरोप छ– अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली आत्मकेन्द्रित, संकुचित र हीनभावबाट ग्रसित भयो । पार्टीलाई समावेशी र सामूहिक निर्णय प्रक्रियाबाट चलाउनुको सट्टा घेराबन्दीमा परेर केही निश्चित व्यक्तिहरूको इसारामा चलाइएको आरोप राणा समूहको छ । जनता केन्द्रित राजनीतिको नारा दिए पनि व्यवहारमा कार्यकर्ताको भावना कुल्चिएको असन्तुष्ट पक्षको ठहर छ ।
राप्रपाको इतिहास फुटको फेहरिस्त हो । यसअघि तत्कालीन अध्यक्ष कमल थापाले महाधिवेशनको परिणामलाई स्वीकार गर्न नसकी पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेका थिए । पटक–पटकको टुटफुट र आन्तरिक किचलोको सबैभन्दा ठूलो मूल्य राप्रपाले बोकेका कोर एजेन्डाहरूले चुकाउनुपरेको छ । आम जनतामा राजतन्त्र पुनस्र्थापना र वैदिक सनातन हिन्दुराष्ट्र स्थापनाको एजेन्डाप्रति आकर्षण बढिरहेकै बेला नेतृत्वको कुर्सीको लडाइँले जनतामा निराशा पैदा गरेको छ । राप्रपा यतिबेला सङ्कटको दोबाटोमा छ । राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा केवल चुनावी नारा मात्र होइनन् भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्छ । व्यवस्थाविरोधी आन्दोलनको नेतृत्व गर्ने हो भने सत्ताको फेरो समात्ने दोहोरो चरित्र बन्द हुनुपर्छ । धवलशम्सेरहरूले लगाएको ‘आत्मकेन्द्रित शैली’को आरोपलाई व्यवहारतः गलत प्रमाणित गर्न लिङ्देनले निर्णय प्रक्रिया पारदर्शी बनाउनु आवश्यक छ ।
गएको फागुन २१ को निर्वाचनमा राप्रपाले अप्रत्याशित र नमिठो पराजय भोग्नुप¥यो । पराजयपछि पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने माग उठेको थियो । तर, नेतृत्वले हारबाट चेत्नुको सट्टा उल्टै असन्तुष्ट आवाजहरूलाई दबाउने र एकलौटी ढंगले अघि बढ्ने नीति लिएपछि धवलशम्सेर राणा नयाँ पार्टी गठनतिर लागेको बताइन्छ । राणाको नेतृत्वमा नयाँ पार्टी बन्ला या अर्को राजनीतिक ध्रुवीकरण होला, त्यो भविष्यको गर्भमा छ ।
