प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्



नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासका रूपमा मुख्यमन्त्रीसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहेको थियो ।
प्रधानमन्त्री कार्यालयमा भको उक्त छलफलमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्थालगायत विषयमा जानकारी लिएका छन् । स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको प्रस्ट पारे । उनले संविधानले नै प्रदेशलाई अधिकार तोके पनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएको उल्लेख गरे । विकास निर्माण, प्रशासनिक क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अवगत गराएको उनको भनाइ छ । बैठकमा कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने उपस्थित थिएनन् । यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पु¥याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

