चुनावमा सुरक्षा चुनौती सिर्जना गर्न सक्ने व्यक्ति र समूहको निगरानी गर्नुःप्रधानमन्त्री

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका हुन् । कार्कीले सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् ।

हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरक्षा प्रमुखहरुले मंगलबार पानी परेका कारण उच्च हिमाली जिल्लामा हिउँ पर्नसक्ने र त्यसबाट व्यवस्थापनमा असर पर्नसक्ने ब्रिफिङ गरेका छन् । तराईमा होलीको समयमा मदिरा बेचबिखनमा रोक लगाउनेबारे छलफल भएको बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका एक जना अधिकारीले बताए ।

सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिएकी छन् । सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको निगरानी गर्न निर्देशन दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *