एमालेको झापामा शक्ति प्रर्दशन, निर्वाचनमा नेशनल भोलेन्टियर्स खटाउने निर्णय

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)ले झापामा शक्ति प्रर्दशन गरेको छ । उक्त शक्ति प्रर्दशनमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन । उनी झापा–५ बाट उम्मेदवार पनि हुन । चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अरू कसैले देश बनाउन नसक्ने बताएका छन् । उनले निर्वाचनमा बुथ कब्जा हुनसक्ने भन्दै त्यस्तो कल्पनासमेत नगर्न चूनौति दिए । ओलीले भने,‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन । एमाले सधैँ अडिग रहँदै आएको छ । कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ । बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन ।’ निर्वाचनको क्रममा देशव्यापी रुपमा शान्ति सुरक्षा काम नेशनल भोलेन्टियर्स फोसले गर्ने पनि बताए ।

उनले देशभरका हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर्स राख्न समेत निर्देशन दिए । प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उनको भनाइ थियो । उनले टोलटोलमा भोलेन्टियर्स फोर्स गठन गर्न निर्देशन दिंदै यसका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताए । उनले फोर्सलाई स्थानीय पार्टीले पनि हस्तक्षेप गर्न नहुने बताए ।

एमालेले आफ्नो नेतृत्वमा देशका धेरै विकासका काम गरेको पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दावी गरे । उनले देशको जुनसुकै कुनामा गए पनि एमालेले के ग¥यो भनेर सोधे जवाफ पाइने बताए । अध्यक्ष ओलीले भने, ‘जहाँ उभिएको छ, त्यो ठाउँबाट हेरे एमालेले गरेको विकास सजिलै देखिन्छ ।’ अध्यक्ष ओलीले गर्भमा हुँदादेखि अन्तिम सँस्कारसम्मका लागि एमालेले नागरिकका पक्षमा काम गरेको दावी गरेका छन् । उनले किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरुको पक्षमा एमालेले काम गरेको बताएका छन् ।

ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको दाबी गरेका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरे । उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भए पनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको भनाइ छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *