देउवा समूह छाडेर आएका दुई नेता सहमहामन्त्री निर्वाचित

नेपाल दर्पण, काठमाडौं ।
कांग्रेसको १५औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह छाडेर आएका दुई नेता सहमहामन्त्री निर्वाचित भएका छन् । सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा विजयी भइसकेका छन् । सभापतिसहित १३ पदाधिकारी निर्वाचित हुँदा विशेष महाधिवेशनमा सहभागी नभएका दुई नेता मात्र पदाधिकारीमा आउन सफल भए ।
सभापति, उपसभापति र महामन्त्रीसहितका ९ पदमा भने यसअघि नै विशेष महाधिवेशन पक्षधर नेताहरू निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन् भने अरू सबै चुनावबाट निर्वाचित भएर आएका हुन् । शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । उनी पनि विशेष महाधिवेशनको प्रक्रियामा सहभागी भएका थिएनन् । दुवैजनाले निर्वाचित भएको प्रमाणपत्रसमेत लिइसकेका छन् ।
यसैगरी, महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन् । उनी पनि विशेष महाधिवेशन पक्षधर नेता हुन् । कुल २० पदाधिकारीको निर्वाचन भएकोमा अझै सात सहमहामन्त्रीको परिणाम आउन बाँकी छ ।
