नेपाललाई जलवायु परिवर्तनले भएको क्षतिको अनुदान दिन विश्व समुदायलाई आग्रह

नेपाल दर्पण, काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् । खनालले जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले जलवायु संकटको सामना गर्न नेपाललाई सहज पहुँच हुने तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।
काठमाडौंमा आयोजित ‘काठमाडौं क्लाइमेट विक–२०२६’ लाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन नेपालका लागि विकास, कृषि, पूर्वाधार, जलसुरक्षा, जनस्वास्थ्य र ऊर्जासहित परराष्ट्र नीतिसँग समेत जोडिएको गम्भीर चुनौती बनेको बताए । उनले भविष्यका जलवायु जोखिमलाई ध्यानमा राखेर सडक, पुल, प्रसारणलाइन तथा सहरी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, हिमनदी र हिमतालसम्बन्धी वैज्ञानिक अध्ययनबाट प्राप्त तथ्यांकलाई प्रभावकारी पूर्वसूचना प्रणालीमा जोडेर जोखिममा रहेका समुदायसम्म समयमै सूचना पु¥याउनुपर्ने बताए ।
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान रहे पनि जलवायु परिवर्तनको असर असमान रूपमा भोग्नुपरेको उनको भनाइ थियो । “जलवायु संकट सिर्जना गर्न नेपालको भूमिका नगण्य भए पनि यसको असमानुपातिक भार नेपाली जनताले व्यहोर्नुपरेको छ । जलवायु न्यायको अर्थ यही असमानुपातिक भारलाई स्वीकार गर्नु र त्यसलाई सम्बोधन गर्न ठोस कदम चाल्नु हो ।” मन्त्री खनालले जलवायुजन्य क्षति न्यूनीकरणका लागि अनुकूलन सहयोग, प्रविधि हस्तान्तरण र संस्थागत क्षमता विकासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए । क्षति तथा नोक्सानी कोषबाट प्रभावित मुलुकले सहज रूपमा स्रोत प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्नेमा पनि उनले जोड दिए ।
महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट पारेका थिए । उनले प्रधानमन्त्रीको बालेन शाहको संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दावी गरे । प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मुलभूत पक्षहरू उजागर भएको उनको भनाइ छ । मन्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए । परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराए ।
