August 2, 2026

एमाले-नेकपा मिलेपछि लुम्बिनीमा सत्तामा भएको कांग्रेस प्रतिपक्षमा पुग्यो

0
cong

नेपाल दर्पण, काठमाण्डौ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन् । राजीनामा बुझाउने मन्त्रीहरूमा धनेन्द्र कार्की – आर्थिक मामिला मन्त्री, सरोज थापा – सहरी विकास तथा खानेपानी मन्त्री, प्रचण्डविक्रम न्यौपाने – उद्योग, पर्यटन तथा यातायात मन्त्री, जन्मजय तिमिल्सिना – सामाजिक विकास मन्त्री र देवकरण कलवार – वन तथा वातावरण मन्त्री छन् ।

सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा नयाँ सहकार्य गर्ने सहमति बनेसँगै कांग्रेसले सरकार छाड्ने निर्णय गरेको हो । मन्त्रीहरूले आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा बुझाइएको पुष्टि गरेका छन् ।

यसअघि लुम्बिनी प्रदेशमा एमाले र कांग्रेसबीचको गठबन्धनमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको थियो । तर, सत्ता साझेदार एमालेले नेकपासँग नयाँ राजनीतिक सहमति गरेपछि कांग्रेसले सरकार छाडेर प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ । अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री आचार्यलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ । यो कदमसँगै लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरण पूर्णरूपमा फेरिने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *