२४ औं सत्याग्रहमा बसेका केसी आईसीयूमा, वार्तामा आउन सरकारको अनुरोध

नेपाल दर्पण, काठमाडौं ।
बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर भएपछि चिकित्सकहरूको आग्रहमा उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अचानक बल्ड सुगर घट्ने, रक्तचाप पनि असन्तुलन भएपछि हाल केसीलाई अनशनबसेको स्थलबाट धनगढीमा नै रहेको सेती प्रादेशिक अस्पतालको आईसीयूमा लगेर चिकित्सकको निगरानीमा राखिको छ ।
यति मात्रै हैन, अन्य स्वास्थ्य समस्या पनि डा. केसीमा देखिएको छ । अहिले मांसपेशीहरू बाउँडिने समस्या देखिएको छ भने बोल्न समेत असहज भइरहेको छ । साथै, हिँडडुल गर्न र बाथरुम जानसमेत कठिनाइ भइरहेको छ । बुढौली उमेर त्यसमाथि एक महिना अघि मात्रै खुट्टाको जटिल शल्यक्रिया गरेका केसीको स्वास्थ्य अवस्था यसपटक अनशन सुरु गरेको ३ तीनमानै जटिल बनेको हो । २४ औं सत्याग्रह आज तेस्रो दिन हो । हाल उनको चेकजाँच तथा मोनिटरङका लागि सेति प्रादेशिक अस्पतालका फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा टोली तयार गरेर चेकजाँच भइरहेको छ ।
डा. केसीले मुख्यतह शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गरी ३०० शैयाको पूर्णकालीन अस्पताल गेटामा सञ्चालन गर्ने लगायत मागहरू स्पष्ट सँग राखेका छन् भने शिक्षा मन्त्री पोखरेलले यी मागहरूलाई सम्बोधन गर्ने गरि गृहकार्य गर्नको लागि अनशन तोडेर वार्तामा आउन अनुरोध गरेका छन । चिकित्सा शिक्षाको सुधारको लागि पटक–पटक अनशन बसेका डा. केसीको यो २४ औं अनशन हो । यसअघि नै सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमालाई पूर्ण रूपमा बेवास्ता गरेपछि पुनः अनशन सुरू गर्नु परेको डा. केसीले बताए ।
केसीले सरकारलाई जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द्व हुनेगरी दशरथचन्द मेडिकल विश्वविद्यालयसहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गरेक छन । चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ । गेटामा विश्वविद्यालय सञ्चालनमा आउनु स्वागतयोग्य भएपनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा समेत षड्यन्त्र रहेको उनको आरोप छ ।
