भारतबाट नेपाल फर्किने नेपालीहरुले अब भारु २०० र ५०० लिएर जान सक्ने

नेपाल दर्पण, काठमाडौं ।
भारतबाट नेपाल फर्किने नेपालीहरुले अब भारतीय रुपैयाँका रु २०० र रु ५०० का नोट लिएर नेपाल जान सक्ने भएका छन । नेपाल राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था संशोधन गर्दै अब २०० र ५०० दरका भारतीय रुपैयाँका नोट पनि ल्याउन, लैजान र सटही गर्न सकिने व्यवस्था गरेको हो ।
भारत सरकारले सन् २०१६ नोभेम्बर ८ पछि प्रचलनमा ल्याएको २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि ५०० र १००० दरका नोटको कारोबारमा प्रतिबन्ध रहेकामा नयाँ डिजाइनका २०० र ५०० दरका नोटलाई भने निश्चित सीमाभित्र अनुमति दिइएको हो ।
राष्ट्र बैंकले भने नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने यथावत् रहेको स्पष्ट पारेको छ । यस विषयमा २०८२ भदौ १० मा प्रकाशित पुरानो सूचना खारेज गरिएको पनि बैंकले जनाएको छ । यस्तै विदेशी या नेपाली यात्रुले भन्सार घोषणा नगरी नेपालमा ल्याउन पाउने अमेरिकी डलरको सीमा पनि बढाएर ५ हजार डलर पु¥याइएको छ । यसअघि यो सीमा कम थियो। ५ हजार डलरभन्दा बढी रकम ल्याउँदा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् राखिएको छ ।
