डडेलधुरा र काठमाण्डौमा दुर्घटनाः २ जनाको मृत्यु दर्जन बढी घाइते

नेपाल दर्पण, काठमाडौं ।
भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको पाँचजना सवार बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । चालकसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षका सुगन लोथ्याल र सोही ठाउँका २८ वर्षीय हनु लोथ्यालको दुर्घटनामा परी मृत्यु भएको छ भने दार्चुलाको मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीया सरस्वती लोथ्याल घाइते भएका छन् ।
जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते छन् । घाइते तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै,काठमाडौं महानगरपालिका–४ महाराजगन्जस्थित चक्रपथ नजीकै भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँएका छन् । चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा२ज ३५७८ नम्बरको ट्याक्सी, लु११प४९७५, बा७३ज ३७२३ र बा।प्र।०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काठमाडौंको मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, निजका भाई १० वर्षीय सुशान्त शाही, ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी साह, भक्तपुर बस्ने ४१ वर्षीय ऊर्जा लामा, बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बू घाइते भएका छन् । यस्तै, ललितपुरको इमाडोल बस्ने १८ वर्षीय निउजित, वसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, उदयपुरका २५ वर्षीय विनोद थापा मगर र नलपुरका २२ वर्षीय जीवन राना मगर घाइते भएका छन् । दुर्घटनामा संलग्न सबै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
