नक्कली शरणार्थी प्रकरणमा रायमाझी, रिजाल र राई दोषी, कैद र जरिबाना तोकियो

नेपाल दर्पण, काठमाडौं ।
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।
अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि ‘ठगी र सङ्गठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
यस्तै, टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो । मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा दोषी ठह¥याइएका १६ जनाविरुद्ध सजाय सुनाएको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ । राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण गरिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो । ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो । राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुने अदालतले उल्लेख गरेको छ । अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्नेछ । उनी पुर्पक्षका लागि थुनामै छन् । उनले ३ वर्ष २ महिना १० दिन सजाय भुक्तान गरिरहेका छन् । बाँकी भने ९ महिना २० दिन कैदको हकमा छुट हुनेछ । उनले ७ महिना ७ दिन कैद छुट पाउनेछन् ।
