कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सरकारप्रति फायर
नेपाल दर्पण, काठमाडौं ।
प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएपछि वर्तमान कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सरकारप्रति फायर भएकी छिन । मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छिन् । उनले न्यायपालिकाको लडाइँ बाँकी नै रहेको बताएकी छन् । कानुन दिवसका अवसरमा शनिबार (वैशाख २६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले डर र प्रभावमा स्वच्छ न्याय सम्भव नरहेको बताएकी हुन् ।
डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न उनले न्यायकर्मीलाई आग्रह पनि गरिन् । “डर र प्रभावमा स्वच्छ न्याय सम्भव छैन । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई अनुरोध गर्दछु,” उनले भनिन्, “म आफैँले जीवनभर विभेद र अन्यायविरुद्ध लडेँ । हाम्रो लडाइँ आज पनि बाँकी नै छ ।” संविधानको ‘स्प्रिट’ र सरकारको ‘स्पीड’मा अघि बढ्न सक्ने क्षमता न्यायपालिकामा रहेको उनले बताइन् । यसनिम्ति साधनस्रोतले सशक्त बनाउनुपर्नेमा उनले जोड दिइन् ।
उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराइन् । विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिबद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, म न्यायाधीशहरुलाई भन्न चाहन्छु, ‘डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु । एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।’
