चुनावमा ९१ मत प्राप्त गरेकी नायिका निशा अधिकारीको चुनावी खर्च झण्डै ८ लाख



नेपाल दर्पण, काठमाडौं
गत फागुन २१ भएको आम निर्वाचन मा भाग लिएकी नायिका निशा अधिकारी अति नराम्रोसँग हारिन र जमानत जफत भयो । उनले गतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लुडेकी थिइन । तिनै अधिकारीले आज चुनावी खर्च विवरण बुझाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार ७ लाख ७६ हजार ९२१ रुपैयाँ ४५ पैसा खर्च भएको छ । उनले ९१ मत प्राप्त गरेकी थिइन् ।
अधिकारीको सबैभन्दा धेरै खर्च सामाजिक सञ्जाल (विज्ञापन र डिजाइन) मा साढे २ लाख रुपैयाँ खर्च गरेकी छन् । कार्यालय सञ्चालन, खाजा–खाना, सवारीसाधन, फोटो–भिडियोलगायतमा पनि उनको ठूलो खर्च भएको देखिन्छ । त्यस्तै, स्वयंसेवकको खाजा, खाना, यातायात खर्च र निर्वाचन कार्यक्रम लगायत शीर्षकमा १ लाख २९ हजार ७०७ रूपैयाँ खर्चिएकी छन् । कार्यलय संचालनमा १ लाख १७ हजार रूपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।
उनले आफू चुनाव लडेको गतिशील लोकतान्त्रिक पार्टीबाट २ लाख रुपैयाँ, व्यक्तिगत सहयोगबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ र उम्मेदवारको तर्फबाट २७ हजार ८५५ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख गरेकी छन् । हारेपछि उनले सामाजिक सञ्जालमार्फत संसदमा पुग्ने सपना अझै जीवित रहेको बताएकी थिइन् ।

