प्रेस स्वतन्त्रतामाथि कुनै किसिमको नियन्त्रण हुँदैनः प्रचण्ड

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण नहुने बताएका छन । नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन ।

‘प्रेस जगत्सँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौं र उपभोगको सहज वातावरण पनि बनाऔँ, सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ’, प्रधानमन्त्री दाहालले भने, ‘असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।’

‘कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो’, उनले भने, ‘हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।’
सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डामा सरकारको जोड रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस जगत्सँग हातेमालो गर्दै परिवर्तनका एजेण्डालाई संस्थागत गर्न र देशमा द्रूत आर्थिक वृद्धि हासिल गर्न चाहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *