नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई रिहा गर्न अस्वीकार

नेपाल दर्पण, काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले पुर्पक्षका लागि थुनामा रहेकाहरूमध्ये पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित सात अभियुक्तलाई थुनामै राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेश सदर गरिदिएको छ ।

जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका १६ जनामध्ये ६ जना उच्चको आदेशबाट साधारण तारेख तथा धरौटीमा रिहा भइसकेका छन् । सर्वोच्च अदालतले थप तीन जनालाई साधारण तारेख र धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले मुस्लिम आयोगका तत्कालीन अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छाड्न भनेको छ । यस्तै, पुर्पक्षका लागि थुनामा रहेका आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्चले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश सदर गरेसँगै एमाले नेता रायमाझी, तत्कालीन गृहसचिव पाण्डे, नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकारमध्येका केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई मुद्दाको फैसला नहुँदासम्म थुनामै रहनेछन् । यस्तै, एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पनि सर्वोच्चले साधारण तारेख वा धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १ असार २०८० मा जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यो मुद्दामा उच्च अदालत पाटनले एमाले नेता रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो कांग्रेस नेता बालकृष्ण खाँणलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख, रामशरण केसी १५ लाख र शमशेर मियालाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाइएका र धरौटीमा छाड्ने आदेश भएका शमशेर मियाले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *