माइतीघर मण्डलमा लगाइएको निषेधाज्ञा हट्यो

नेपाल दर्पण, काठमाण्डौ ।

जनताको धेरै विरेधपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाइएको हो। जिल्ला प्रशासन कार्यालयजारी गरेको सूचनामा भनिएको छ, “हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिशअनुसार, माइतीघर मण्डलदेखि बानेश्वरसम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।”

यसअघि काठमाडौंका विभिन्न स्थानमा दुई महीनासम्मका लागि भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो। त्यसलाई लम्याउँदै लगिएको थियो। यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधिन छ। यस्तै , गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृङ्खल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्ति विरुद्ध सरकारले कडा नीति लिने चेनावती दिएको हो।

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ। मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवानासहितको कारबाही हुने मन्त्रालयले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *