ओमानलाई हराएर नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल

नेपाल दर्पण, काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले हराउँदै ३६ खेलमा ३० अंकसहित छैटौं स्थान पक्का गरेको छ । लिग–२ को शीर्ष ६ मा पर्ने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना भएकाले ओमानविरुद्ध नेपाललाई जित्नै पर्ने दबाब थियो । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रनको योगदान गरे । उनले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । हम्माद मिर्जाले ८७, हसनैन शाहले अविजित ४०, हसनैन उल वाहबले १५ र कप्तान विनायक शुक्लाले १३ रन बनाए । दोस्रो विकेटका लागि सिंह र मिर्जाबीच १५८ रनको साझेदारी भएको थियो । ३७औँ ओभरमा ललितनारायण राजवंशीले यो साझेदारी तोडेपछि नेपाल खेलमा फर्किएको थियो ।
नेपालका ललित र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा नन्दन यादव र कप्तान सन्दीप लामिछानले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई–दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए । चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे ।
ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले ८ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे । जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्यो । यो सातौँ स्थानको क्यानडाको भन्दा एक अंक बढी हो । पराजित ओमान ३२ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ ।
