पार्टीभन्दा माथि कुनै व्यक्ति हुदैनःगगन थापा, नयाँ कार्यसमितिमा डाक्टर र इन्जिनियर

नेपाल दर्पण, नयाँ दिल्ली ।
नवनिर्वाचित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने बताएका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने । नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको त्याग, योगदान, रगत र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै थापाले कुनै व्यक्तिको गल्तीका कारण पार्टीले क्षति बेहोर्नुपर्ने अवस्था आउन नहुने बताए । पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्ने र सबै पक्षलाई मिलाएर अघि बढ्ने जिम्मेवारी आफूले लिने पनि थापाले स्पष्ट पारे।
गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर, विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा २९ जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको नयाँ कार्यसमितिमा डाक्टर र इन्जिनियरको उल्लेख्य सहभागितासँगै समावेशी, प्रदेशगत, युवा तथा पेशागत समूहसम्म उपस्थिति रहनुले नेपाली कांग्रेस परम्परागत सैलीबाट परिवर्तन भएको देखिन्छ ।
