५ हजार ७ सय बढी भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिइयोः बालेन शाह

नेपाल दर्पण, काठमाडौं ।
विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन । प्रधानमन्त्री शाहले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिएको बताएका छन ।
उनले अगाडी भनेका छन, ‘यो सुरुवात हो । अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौं । सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ ।’ निर्वाचनका क्रममा गरिएको १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने स्पष्ट वाचा अनुसार यो प्रक्रियालाई सरकारको स्पष्ट कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाइएको उनले जानकारी दिएका छन् ।
यस्तै, प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकाबाट विस्थापित परिवारहरूको हकमा स्थायी ठेगाना भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । झुटो विवरण दिई आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया समेत सुरु भएको शाहको भनाइ छ ।
शाहका अनुसार भूमि सम्बन्धी ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुनमा आवश्यक सुधार गरी कामलाई थप गति दिने दिशामा सरकार अघि बढिरहेको छ । २०१५ सालदेखि अहिलेसम्म विभिन्न पार्टीका सरकार र विभिन्न व्यवस्था फेरिए तापनि सुकुम्बासीको समस्या आज पनि समाधान गर्नुपर्ने प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको समेत प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
