August 2, 2026

कांग्रेसका पुराना र प्रभावशाली नेता गोपालमान श्रेष्ठ रहेनन्

0
gopals

नेपाल दर्पण, काठमाण्डौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो । स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर भोलि बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले बताएका छन ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीरलाई शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए । वरिष्ठ नेतामा मनोनयन भएको केही दिनमै उनको निधन भएको हो ।

श्रेष्ठमा प्याङ्क्रियाजसम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगेर उपचार गराइएको थियो । त्यहाँ उनले किमोथेरापी समेत लिएका थिए । करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए । तर, त्यसयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो । दिवंगत श्रेष्ठ पछिल्लो ९÷१० दिनदेखि जावलाखेलस्थित हेलियस अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए ।

गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक थिए । उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालेका थिए थिए । राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेका बेला श्रेष्ठले पार्टीको नेतृत्व गरेका थिए । गत वर्ष पुसमा उनी देउवा समूह छाडेर विशेष महाधिवेशनका पक्षमा खुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *