गेटाको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म केसीले अनसन नतोड्ने

नेपाल दर्पण, धनगढी ।
पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीले गेटाको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म अनसन नतोड्ने भएका छन । धनगढीस्थित सेती प्रादेशिक अस्पताको आईसीयू वार्डमा राखिएका डा. केसीले सुगर बढाउने औषधि÷स्लाइन लिन अस्वीकार गरेका छन यसका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
केसीको पिसाबमा किटोनको मात्रा देखिएको र रगतमा एसिडोसिस देखा पर्न थालेको अस्पतालले जनाएको छ । यससँगै चक्कर लाग्ने, मांसपेशी डाउँडिने, कमजोरीका कारण बोल्न समेत असहज देखिएको जनाइएको छ । अस्पतालका अनुसार, डा. केसीको रक्तचाप ९०÷५० एमएमएचजी रहेको छ । त्यस्तै, रगतमा चिनीको मात्रा ४२ एमजी÷डीएल रहेको छ । यो शरीरलाई आवश्यकभन्दा न्यून रहेको र विशेषज्ञ चिकित्सकहरूले निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।
धनगढीस्थित राधाकृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ । ‘विगतमा लामो समयदेखि मधुमेहको समस्या तथा उमेरका कारण उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ,’ अस्पतालले भनेको छ । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्न, तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न लगायतका माग राखी साउन ७ गतेदेखि डा. केसी सत्याग्रहमा छन् । उनका माग सम्बोधन गर्न सरकारी वार्ता टोली संवाद गरिरहेको छ ।
