July 22, 2026

शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ताः बालेन, स्वागतयोग्य निर्णयः गगन

0
gaganbalen

नेपाल दर्पण, काठमाण्डौ ।

शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लिएको बताएका छन । शाहले सामाजिक सञ्जालमार्फत कर फिर्ता लिइएको जानकारी दिएका हुन् ।

शाहले फेसबुकमा लेखेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भनेबमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो । यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’ जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताएका छन् ।

सरकारले गरेको उक्त निर्णयको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वागत गरेका छन् । थापाका अनुसार निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् । धेरैका लागि यो कुनै विलासिता नभएर बाध्यता भएको उल्लेख गर्दै उउनले भनेका छन् , “निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन ।”

सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेकोमा धन्यवाद दिँदै सभापति थापाले यस निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया रीतपूर्वक पूरा गर्न आग्रहसमेत गरेका छन् । साथै, थापाले सरकारसँग बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याएर आम नागरिकको मर्म बुझ्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *