अहिलेको सरकार मान्छे मार्ने, मराउने षड्यन्त्रबाट आएको होःओली

नेपाल दर्पण, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मान्छे मार्ने, मराउने र षड्यन्त्रबाट आएको बताएका छन । यतिमात्रै हैन, उनले अगाडी थपे, “अहिले देशमा परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ,” “लोकतन्त्रमा सरकार बदल्ने कानुनी बाटाहरू हुन्छन्, जहाँ हिंसा, आगजनी र षड्यन्त्र मान्य हुँदैनन् । तर, अहिलेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने र षड्यन्त्र गर्ने पृष्ठभूमिबाट भएको हो ।”
एमाले सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश अहिले नीति र पद्धतिविहीन अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे । सम्बोधनका क्रममा अध्यक्ष ओलीले पछिल्लो समय राजनीति र समाजमा व्याप्त ‘पपुलिज्म’को चर्को आलोचना गरे । लोकप्रियता कमाउने नाममा भइरहेका भद्दा अभ्यासहरूले समाज र राजनीति दुवैलाई विकृत बनाएको उनको ठहर थियो ।
यससँगै ओलीले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगप्रति पनि कडा आक्रोश पोखे । सञ्जालले समाजमा स्वस्थ बहस गराउनुको साटो भ्रम र अराजकता फैलाएको उनको आरोप थियो । ओलीले भने, “सामाजिक सञ्जालले असामाजिक ढंगले काम गरिरहेको छ । कोही उत्तरदायी हुनु नपर्ने, कतै दर्ता हुन नपर्ने र कसैप्रति जवाफदेही हुनु नपर्ने संयन्त्र जस्तो बनाएर यहाँ निराधार र असत्य कुराहरूको प्रचार भइरहेको छ । यसले समाजमा भयानक विकृति ल्याएको छ ।”
मुलुकको आर्थिक र सामाजिक अवस्थाबारे बोल्दै ओलीले युवा पलायनको मुद्दामा सरकारको दोहोरो मापदण्डमाथि समेत कटाक्ष गरे । “पोहोर साल यतिबेला युवाहरू विदेशिए भनेर खपिनसक्नु हल्ला खडा गरिएको थियो,” तर सबैतिर चुपचाप छ, अचम्म त के छ भने अहिले युवाहरू बाहिर जानु उनीहरूको अधिकार हो भन्दै यसको नयाँ व्याख्या गरेर पन्छिने काम भइरहेको छ ।” विगतको तुलनामा अहिले वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढे पनि चौतर्फी मौनता छाएको उनको भनाइ थियो ।
