नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गरेका होइनन्ः ओली

नेपाल दर्पण, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेका कारण पार्टी कमजोर बनेको बताएका छन । उनले पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको बताए । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेलाई अप्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनरुत्थानमार्फत त्यसलाई पराजित गर्नुपर्ने बताए । ओलीले एमाले आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन् । नेकपा एमाले आत्तिने अथवा मात्तिने गर्दैन । हरेक परिस्थिति हामीले जितेका छौँ, सामना गरेका छौँ र अगाडि बढेका छौँ, बढ्छौं ।’उनले पार्टीले गरेका गतिविधिलाई समाजसम्म पु¥याउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
यस्तै अर्को एक प्रसंगमा बोल्दै ओलीले नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् । ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको हत्याकाण्ड दीपेन्द्रले नगरेको दाबी गरेका हुन् । “आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रूपमा फैलाइएको हल्लामा कुनै सत्यता छैन,“ ओलीले भने । उनले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर ‘रेडिमेड’ कथा विश्वव्यापी रूपमा फैल्याइएको बताए । उनले दरबार हत्याकाण्ड कसले ग¥यो भन्नेकुरा अझै खुल्न नसकेको उल्लेख गरे ।
