दिल्लीमा रविको स्वागतलाई लिएर तरंग, भाजपाले के सन्देश दिन खोजेको ?
नेपाल दर्पण, नयाँ दिल्ली ।
पाँच दिने भारत भ्रमणको सिलसिलामा सोमबार नयाँदिल्ली पुगेका रास्वापाका सभापति रवि लामिछानेलाई मंगलबार भारतीय सत्तारुढ दल भाजपाको मुख्यालयमा पुष्पवर्षा बाजागाजा र सांस्कृति नृत्यसहित स्वागत गरिएको थियो । भाजपाले रविलाई रातो कार्पेट बिछ्याएको थियो । रवि ‘भाजपालाई जानौं’ अभियान अन्तर्गत भाजपाका अध्यक्ष नितिन नविनको निमन्त्रणामा भारत गएका हुन् ।
यसअघि भाजापाको मुख्यालय पुग्ने नेपाली नेताहरुले यस्तो भव्य स्वागत पाएका थिएनन् । रास्वपा सभापति रविलाई गरिएको स्वागत विशेष देखिन्थ्यो । यस्तो भव्य स्वागत गरेर भाजपाले के सन्देश दिन खोजेको होला ? भनेर अहिले मानिसहरुमा चासो बढीरहेको छ । स्वागतपछि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नबिनबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको छ । उनीहरूबीच नेपालभारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सभ्यतागत विरासत, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धबारे चर्चा भएको भाजपाले जनाएको छ । लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने र भाजपा तथा रास्वपाबीचको अन्तरदलीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि उनीहरूबीच कुराकानी भएको भाजपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्तासँग सम्पर्क र पहिचान गर्ने संयन्त्रबारे चासो राखेको विज्ञप्तिमा उल्लेख छ । जवाफमा नवीनले निरन्तर जनसम्पर्क, बुथस्तरीय सक्रियता र आम नागरिकको सहभागितामार्फत भाजपाको संगठनात्मक शक्ति निर्माण भएको बताएका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सेवा, सुशासन र जनकल्याणलाई केन्द्रमा राखेर शासन सञ्चालन गरिएको पनि बताएका थिए । भेटका क्रममा दुवै पक्षबीच राजनीतिमा ‘जेनजी’को बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणका सम्भावनाबारे पनि छलफल भएको थियो । भेटमा अरुण सिंह, संजय जैसवाल, बन्सुरी स्वराज र विजय चौथाइवाले सहभागी थिए। रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि अवलोकन गरेको थियो ।
