राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु एकमुष्ट पदमुक्त
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त भएका छन् । सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेशको दफा –२को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन् ।
उपाध्यक्ष ध्रुव आचार्य पनि पदमुक्त भएका छन् । यद्यपि उनले यसअघि नै राजीनामा दिइसकेको बताइएको थियो । अरू सदस्यहरूमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुदन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगतबहादुर टमाटा छन् ।
सरकारले अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गरेपछि १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदा राखेपका पदाधिकारी पनि पदमुक्त भएका हुन् ।
