NPL लाई ICC ले दियो मान्यता, ‘ICC एसिया कन्फ्रेन्स’ पनि नेपालमा हुदै

नेपाल दर्पण, काठमाडौं ।
प्रिमियर लिग (एनपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले औपचारिक मान्यता दिएको छ । आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ । एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता प्रदान गरेको क्यानले जनाएको छ ।
यस्तै ‘आइसिसी एसिया कन्फ्रेन्स’ नेपालमा हुने भएको छ । क्यानको व्यवस्थापन तथा आइसिसीको आयोजनामा हुन लागेको सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका साथै एसोसिएट सदस्य राष्ट्रहरूका आधिकारिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय क्रिकेटका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुने छन् । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रूपमा स्थापित गराउनुका साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने क्यानको विश्वास छ ।
