August 2, 2026

खुल्यो नेपालको पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

0
nag

नेपाल दर्पण, काठमाण्डौ ।

लामो समयदेखि प्रतिक्षा गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा आज सोमबारदेखि शुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन भएको हो ।

लम्सालले यस उद्घाटनसँगै देश सुरुङ युगमा प्रवेश गरेको र देशभरि सुरुङ निर्माणले यातायात सहज बनाउने बताए । ७ वर्षपछि उद्घाटन भएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने लम्सालले बताए । साथै मन्त्री लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गर्ने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरेका छन । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्व राखेको राजदुत तोरुले बताए ।

यसैगरि उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताए । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ । दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *