आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

नेपाल दर्पण, काठमाडौं ।
काठमाडौँ महानगर प्रहरी र राज्यको आतंकका कारण राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् । आक्रोशित युवाहरूले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् ।
युवाहरूले ‘बेरोजगारलाई गरिखान दे’ ‘घटनाको निश्पक्ष छानबिन गर’ ‘नागरिक मार्न पाइँदैन’ ‘राज्य आतंक बन्द गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका हुन् । मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय युवक गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै बाइकबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएको प्रहरीले जनाएको छ । उनको बाइकमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद भएको थियो। सोही क्रममा घटना भएको हो ।
अहिले गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न प्लास्टिक सर्जन डा.पीयूष दाहालले नेपालीको अवस्था गम्भीर रहेको बताए । दाहालले भने,‘हात घाँटी, टाउकोमा जलन भएको छ । ५० प्रतिशत भन्दा बढी जलेको छ । उहाँको सघन कक्षमा उपचार भइरहेको छ ।’
