प्रधानमन्त्री संसदमा उपस्थित नहुदा हंगामा, उपस्थिति हुनै पर्छ भन्ने छैनः रास्वापा
नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रमको छलफलमा अनुपस्थित हुदा विपक्षी पार्टीहरुले त्यस्को विरोध गरेका छन । संसद्प्रति उत्तरदायी हुनुपर्ने प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उक्त कार्यको संसद्मा विरोध गरे । फलस्वरुप संसद् भने चल्न सकेन । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका लागि पेस गर्ने कार्यसूची थियो ।
मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै कुन–कुन मन्त्रालय आपसमा गाभ्ने भन्ने विषयको छलफलमा प्रधानमन्त्री व्यस्त रहेको उनको सचिवालयको दाबी छ । ‘मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो । त्यसपछि कुन–कुन मन्त्रालय एकआपसमा गाभ्ने भन्ने मोडालिटी तयार लागि प्रधानमन्त्री अझै पनि छलफलमै हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल संघमा २५ मन्त्रालय रहेको छ । बुधबारको बैठकले उक्त संख्यालाई १८ मा झार्ने निर्णय गरेको हो । ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाएको छ । महत्वपूर्ण निर्णय तथा छलफलका कारण प्रधानमन्त्री संसद् जान पाउनुभएन,’ प्रधानमन्त्री निकट स्रोतले भनेको छ ।
यता, बालेनको प्रतिरक्षा गर्दै सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनै पर्छ भन्ने नभएको दावी गरेका छन् । उनले प्रधानमन्त्री विना प्रस्ताव र त्यसमाथि छलफल हुँदैन भन्ने कुरा हुनै नसक्ने जिकिर गरे । उनले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्न नमिल्ने भन्ने कुरा नभएकोतर्फ पनि विपक्ष दलहरुको ध्यानाकर्षण गराए ।
