निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख निर्वाचन आयुक्तहरु नेपालमा

नेपाल दर्पण, काठमाडौं ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ९ देशका प्रमुख निर्वाचन आयुक्तहरु नेपाल आएका छन । विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ । आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उनले निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको बताए । उनकाअनुसार विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणना सम्मको पर्यवेक्षण गर्ने हुँदा शनिवारसम्म नेपालमै रहनेछन् । यस अवधिमा उनीहरु आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए ।

आएका प्रतिनिधिहरूको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ । उनीहरूलाई रात्रिभोज पनि गराइएको छ । निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरूका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *