गण्डकीमा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी, दिपक मनाङे फेरि बने मन्त्री

नेपाल दर्पण, काठमाडौं ।

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । उनीहरूलाई पदभार ग्रहण भने आइतबार मात्रै गराउने तयारी छ ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत समावेश गरी सरकारमा दाबी पेश गरेपछि अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएकै दिन उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले सरकारलाई कामचलाउ हैसियतमा मात्र काम गर्न भनेको छ ।

प्रदेश सभामा विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको अवस्थामा शुक्रबार प्रदेश सभा अधिवेशन शुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ। त्यसको भोलिपल्टै अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी दिएका हुन् । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *