रुसले युक्रेनमा युद्ध शुरुगरेको दुई वर्षमा ११ हजारको मृत्यु, ३७ हजार बेपत्ता

नेपाल दर्पण, काठमाडौं ।

रुसले युक्रेनमा सन् २०२२ मा आक्रमण शुरुगरे यता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ । बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए ।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए । मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौँको ज्यान लिइसकेको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ ।

स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फरवरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *