प्रधानमन्त्री बालेनले दिए देश–विदेशका नेपालीलाई बडादसैंको शुभकामना !

नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले बडादसैंको शुभअवसरमा देश विदेशका नेपाली जनतालाई शुभकामना दिएका छन । साथै उनले रसुवा, नुवाकोट र गोरखाका विपद् प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्रीले सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गर्दै दसैँले देशमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिएका छन् । उनले दसैँको सन्देशलाई सत्यको विजयसँग जोड्दै समाजमा रहेका खराब प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । ‘सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ’, उनले भनेका छन् ।
परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको उनको भनाइ छ । प्रधानमन्त्रीले रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य नेपालीको पीडालाई पनि दसैँको सन्दर्भमा स्मरण गरेका छन् । चाडपर्वमा परिवारसँग भेट्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन ।
