पूर्वप्रधानन्यायाधीश जबरा लगायत अन्यको घरमा अनुसन्धान विभागको छापा

नेपाल दर्पण, काठमाडौं ।
केहिदिनअघि सोधपुछका लागि भनेर नियन्त्रमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ । एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो । ११ असोजको बिहान ३ बजे सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पनि सँगै छ । यसअघि पक्राउ परेका राणालाई १२ घण्टा हिरासतमा राखेर छाडिएको थियो । विभागले राणासहित अन्य केही व्यक्तिको घरमा समेत छापा मारेको छ । तर ठ्याक्कै कति जनाको घरमा छापा मारिएको हो भनेर पुष्टि भइसकेको छैन । विभाग स्रोतका अनुसार राणाका अलावा दीपक तिमल्सेना र नवराज थपालियाको घरमा पनि छापा मारिएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने तिमल्सेना एक समय सर्वोच्च अदालतमा सूचना प्रविधिसम्बन्धी सेवा दिने काममा जोडिएका थिए ।
उच्च अदालतको न्यायाधीशबाट बर्खास्तीमा परेका नवराज थपालियाको घरमा समेत विभागले छापा मारेको छ । २०८० फागुनमा थपालिया न्याय परिषद्को बैठकको सिफारिसमा बर्खास्तीमा परेका थिए । त्यतिबेला थपालियाको आचरण र कार्यक्षमतामा प्रश्न उठाई परिषद्ले बर्खास्त गर्न सिफारिस गरेको थियो । विभागले औपचारिक रूपमा छापा मारेको र उनीहरूको घरबाट के–कस्ता सामग्री जफत गरेको हो भन्ने बताइसकेको छैन । विभागका एक उच्च अधिकारीले भने, ‘सबै काम सकिएको छैन। त्यसैले अहिल्यै भन्न हतार हुन्छ ।’
