सुनसरीको तनावबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित

नेपाल दर्पण, काठमाण्डौ ।
सुनसरीमा देखिएको तनावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि विपक्षी दलहरुले सरकारमाथि प्रश्न उठाएका छन । प्रधानमन्त्री उपस्थित नभएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले आलोचना गरेका थिए । यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय संवाद र सहकार्यलाई निषेध गरिरहेको विषयमा ध्यानाकर्षण गराइएको बताए ।
प्रधानमन्त्रीको अनुपस्थितिबारे उठेको प्रश्नको जवाफ दिँदै लामिछानेले सर्वदलीय बैठक राजनीतिक दलका शीर्ष नेताहरूको धारणा र मार्गनिर्देशन लिन केन्द्रित रहेको बताका छन । प्रधानमन्त्रीको बचाउ गर्दै रविले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीले गर्ने काम आफूले गरिरहनुभएको छ, गर्नुहुन्छ । गृहमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ,’ लामिछानेले भने ।
बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । । ‘हामीले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिको विषयमा प्रश्न उठायौँ । अहिलेलाई सद्भाव र शान्ति प्राथमिकता रहेकाले सामूहिक रूपमा त्यसका लागि प्रयत्न अघि बढाउने भएका छौँ,’ उनले भने ।
