रवि–बालेनलाई मिलाउने जेन्जी आन्दोलनका अगुवा तथा गृहमन्त्री सुधनलाई रास्वपाले उपसभापति बनाउदै

नेपाल दर्पण, काठमाण्डौ ।
रवि लामिछाने र बालेन्द्र शाहलाई एकता प्रक्रियामा रसायनको रूपमा काम गरेका जेन्जी आन्दोलनका अगुवा तथा वर्तमान गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति बनाउने तयारी गरेको छ । महाधिवेशनपछि अपूर्ण रहेको केन्द्रीय समिति र पदाधिकारीलाई पूर्णता दिन र पदाधिकारी संरचनामा समावेशिता ल्याउनुपर्ने भन्दै वरिष्ठ नेता बालेन्द्र शाह समूहले गुरुङको नाम अगाडि सारेको बताइएको छ । शाहले गरेको प्रस्तावमा सभापति रवि लामिछाने पनि सकारात्मक देखिएका छन् । बुधबार बस्ने केन्द्रीय समितिको बैठकमा उनलाई उक्त जिम्मेवारी दिइने बताइएको छ ।
मंगलबार एकाएक गुरुङको नाम उपसभापतिमा प्रस्तावित भएपछि सभापति भेट्न बूढानीलकण्ठ पुगेका थिए । रास्वपाको चितवन महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । रास्वपा बैठकको सबैभन्दा महत्वपूर्ण एजेन्डा भने ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको मनोनयन रहनेछ । प्राप्त समाचार अनुसार, प्रधानमन्त्री तथा वरिष्ठ नेता शाह पक्षले आफ्नो समूहबाट कम्तीमा २४ जना केन्द्रीय सदस्य समावेश गर्नुपर्ने भन्दै त्यो भन्दा बढी नाम सिफारिस गरेको बताइएको छ । यही कारण पार्टीभित्र मनोनयन सूची करिब ६०–४० प्रतिशतको शक्ति सन्तुलनका आधारमा बन्न सक्ने चर्चा भइरहेको छ । चितवन महाधिवेशनबाट सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । अब बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयनमार्फत चयन गरिनेछन् ।
रास्वपामा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि बालेन समूह, विवेकशील साझा, उज्यालो नेपाल, जेनजी, थारुहट–थारुवान तथा दलित समूह समाहित भएका थिए । त्यसैले मनोनयन प्रक्रियामा ती सबै समूहलाई सम्मानजनक प्रतिनिधित्व दिने दबाब नेतृत्वलाई रहेको छ । पदाधिकारीतर्फ वरिष्ठ नेतामा प्रधानमन्त्री शाह, सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । अर्को उपसभापति पदमा कानुनमन्त्रीसमेत रहेकी सोविता गौतम निर्वाचित भएकी छन् । महामन्त्रीतर्फ विपिनकुमार आचार्य निर्वाचित भइसकेका छन् भने अर्को महामन्त्रीका लागि भुपदेव शाहलाई अघि बढाउने निष्कर्षमा बालेन टिम पुगेको स्रोत बताउँछ ।
सभापति लामिछाने र बालेन पक्षबीच छलफलपछि मनोनयन सूचीलाई अन्तिम रूप दिइने बताइएको छ । रास्वपाको विधानअनुसार यी पदमा मनोनयन गर्ने अधिकार सभापति रवि लामिछानेलाई रहेकाले उनले प्रस्तावित सूची बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
