पुराना शिर्ष नेताले बनाए रास्वपाको महाधिवेशनमा नजाने सानो मन

नेपाल दर्पण, काठमाडौं ।
चितवनको भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा आमन्त्रण गरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नहुने भएका छन । रास्वपाको आइतबारबाट चितवनमा प्रथम राष्ट्रिय महाधिवेशनमा हुन गइरहेको छ । रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो ।
शिर्ष तहका नेताहरु उपस्थित नभएपनि आफ्ना प्रतिनिधीहरु भने पठाउने छन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन ‘अनन्त’ र एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । कांग्रेसबाट सभापति गगन थापा नै वा अरु नेता आउनेबारे टुंगो लाग्न सकेको छैन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुनेछन् । नेकपाले महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताएका छन् । उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा पठाएको थियो । पूर्ण रुपमा स्वास्थ्य लाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् ।
पार्टी प्रतिनिधिका रुपमा एमालेबाट केन्द्रीय सदस्य ज्ञवालीले महाधिवेशनमा सहभागी जनाउने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङदेन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादवसमेत सहभागी हुने कार्यक्रम छ । स्मरण रहोस, यी पुराना नेताले मन जति सानो पार्छन्, रास्वपा त्यति ठूलो हुँदै जानेछ । र आउने स्थानीय निर्वाचनमा रास्वपाले पुराना पार्टीहरूलाई फेरि मात दिन सक्छ ।
