June 3, 2026

मुुलुकको ३३ औं प्रधानन्यायाधीश बने डा. मनोजकुमार शर्मा

0
sharma

नेपाल दर्पण, काठमाडौं ।

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शर्माको आजै सर्वोच्च अदालतमा पदभार ग्रहण पनि हुनेछ । शर्माको शपथपछि सर्वोच्च अदालतमा स्वागत गर्ने तयारी छ । उनी मुलुकको ३३ औं प्रधानन्यायाधीश बनेका हुन् ।

संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो । संवैधानिक परिषदले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । पर्साको वीरगञ्जमा २०२७ असार ४ गते जन्मिएका शर्मा कानुन व्यवसाय र न्यायिक क्षेत्र दुवैमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनले नेपाल ल क्याम्पसबाट बीएल अध्ययन पूरा गरेका हुन् । त्यसपछि भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

डा. शर्मा २०५२ सालदेखि कानुन व्यवसायमा संलग्न रहँदै आएका छन् । उनले विभिन्न कम्पनी तथा संस्थामा कानुनी सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन् । न्यायिक क्षेत्रमा उनले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा न्यायाधीशका रूपमा काम गरेका थिए । उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । कानुन व्यवसाय, श्रमकानुन अध्ययन र न्यायिक अनुभवका कारण उनलाई न्याय क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छ । उनको नियुक्तिलाई लिएर बारले आन्दोलन नै गरेको छ । जुन विषयले सर्वोच्च अदालतमा समेत विवाद चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *