लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने



नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको हो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा छ । महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो । यसअघि गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो ।

