नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक



नेपाल दर्पण, काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाडौंस्थित् पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहालले उक्त प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् । चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनपछि नयाँ पार्टी बनाउन पहल गरेको सुनाए । “जेनजी आन्दोलनपछि सबैभन्दा पहिला राजनीतिक पहलकदमी लिएर नेपाली कम्युनिस्ट पार्टी बनाउने । पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने पहल गर्ने हामी नै भयौँ,” उनले भने । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नै सबैभन्दा नयाँ भएको जिकिर गरेका छन् ।
नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा लिएको छ । घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने पनि घोषणापत्रमा दाबी गरिएको छ । नेकपाले आर्थिक सुधारको नाममा महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षभित्र जहाँ आर्थिक वृद्धिद्धरको लक्ष्य १० प्रतिशत लिएको छ र ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । यस्तै, उसले गरिवी पनि घटाउने भनेको छ ।
प्रचण्ड नेतृत्वको नेकपाले मुलुकका राजनीतिक दलहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार श्रेणीमा विभाजन गर्दै उसले यस्तो घोषणा गरेको हो । नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा आफूसँग मात्रै भएको दाबी गरेको छ । नेकपा एमाले र नेपाली काँग्रेसलाई ‘यथास्थितिवादी’ को संज्ञा दिँदै उनीहरूसँग देशलाई अगाडि बढाउने कुनै नवीन सोच नभएको टिप्पणी गरिएको छ । त्यसैगरी राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गरिएको छ । जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यी शक्तिहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप लगाइएको छ । विगतका जनसङ्घर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्व जस्ता अधिकार उसकै कारणले पाएको उल्लेख गरेको छ। घोषणापत्रमा उल्लेख छ, ‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौं ।’ नेकपाले अरू दलले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।”

