आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल



नेपाल दर्पण, मुम्बई ।
भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले जम्मा १८० रन स्कोर गरेको थियो । १८५ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा सो लक्ष्य भेटाउन असफल भएको हो ।
खेल सकिएपछि कुराकानीको क्रममा कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको साँघुरो हारबाट आफू निराश रहे पनि टिमको प्रदर्शनप्रति गौरवान्वित रहेको बताएका छन् । चार रनको झिनो हारपछि नेपाली टिमका कप्तान रोहितले इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय रहेको बताए । “निराशा छु । तर, मलाई टोलीप्रति धेरै गर्व छ । इग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय छ, टिमका सबैले आफ्नो शतप्रतिशत दिए,” रोहितले भने “हामी यहाँ केवल सहभागिता जनाउन मात्र आएका होइनौं भन्ने विश्वास थियो । यदि, हामीले हाम्रो आफ्नै शैलीको क्रिकेट खेल्यौँ भने, हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौँ ।”
आज भएको खेल स्कोर मिलाएर टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । आईसीसी टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा इङल्यान्डविरुद्ध ४४ रन बनाएसँगै टी–२० आई क्रिकेटमा दीपेन्द्रले २ हजार रन पूरा गरेका हुन् । टी–२० आई क्रिकेटमा २ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । दीपेन्द्रले ९१ खेलको ७९ इनिङ्समा यो कोसेढुंगा पार गरेका हुन् ।

