कांग्रेसको आधिकारिक सभापति गगन थापाःचुनाव आयोग, निर्णय अमान्यः देउवा पक्ष



नेपाल दर्पण, काठमाण्डौ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिवसहितको छलफलपछि आयोगले उक्त निर्णय गरेको हो ।
“गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक गर्ने निर्णय भएको छ,” स्रोतले भन्यो । निर्वाचन आयोगका पदाधिकारीको बैठकमा बहुमतले यस्तो निर्णय गरेको हो । आयोग स्रोतले दिएको जानकारीअनुसार अद्यावधिक गर्नुपर्ने प्रस्तावमा जानकी तुलाधरले फरक धारणा राखेकी थिइन् भने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन जबरा अद्यावधिक गर्नुपर्ने पक्षमा थिए । आयोगको कानुन शाखाका स्रोतका अनुसार विशेष महाधिवेशन पछि चयन भएको नेतृत्वलाई अद्यावधिक निर्णय गरेको हो ।
आधिकारिकता पाएपछि पहिलोपटक पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले आफूबाट कसैलाई काखा र पाखा नहुने बताएका छन् । निर्वाचन आयोगले उनको नेतृत्वमा बनेको कांग्रेसलाई आधिकारिकता दिएपछि थापाले उक्त प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन् , ’मबाट कसैलाई काखा र पाखा हुन्न, कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको पनि हो ।’
यता, नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई वैधता दिनेगरी निर्वाचन आयोगबाट भएको निर्णय आफूहरुलाई मान्य नरहेको बताएका छन् । आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए । ‘एक पक्षले दाबी गरेको बारेमा नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति अहिले पनि यथावत छ । निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाइकन, निर्वाचन गर्ने प्रक्रियाको खिलाफमा निर्णय आएको छ । यो हामीलाई अमान्य छ,’– उनले भने ।

